साउनको महिमा : धार्मिक दृष्टिले किन सर्वोत्तम र पवित्र मानिन्छ ?

शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामो हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको 
पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।



साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् ।


साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । विशेष गरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास गरिन्छ ।

साउनको रंग

सर्वत्र हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो यो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी महिलाहरु रंगीचंगी फेसनमा सजिने गर्छन् । साउनको फेसनमा हरियो, रातो र पहेंलो रंगको कम्बिनेसन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ ।

साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ ।

चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।

साउनको खानपान

यो वर्षको मौसम पनि हो । यतिवेला हाम्रो पाचन यन्त्र कमजोर हुन्छ भनिन्छ । त्यसैले मासुजन्य एवं मसलेदार खानेकुरा सजिलै पच्दैन । त्यस्ता खानेकुरामा संक्रमणको भय पनि रहन्छ । त्यही कारण यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post