लुम्बिनी प्रदेशमा जसपाका सांसद दुई ध्रुवमा विभाजित भएपछि एक अर्कामाथि कारवाहीको होड

 



बुटवल । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका विषयमा जसपा नेपालका प्रदेशसभा सदस्यहरु दुई कित्तामा विभाजित भएपछि एक अर्कामाथि कारवाहीको होड चलेको छ । शंकर पोखरेलको नेतृत्वको सरकारलाई निरन्तरता दिने कि सत्ता बाहिरका दलहरूको गठबन्धनमा नयाँ सरकार बनाउने भन्ने सन्दर्भमा जसपा नेपाल निर्णायक भूमिका निर्वाह गर्ने तह रहेसँगै सो पार्टीका सांसद दुई कित्तामा विभाजित भएका हुन् ।

प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा जसपा नेपालका ६ मध्ये चार सांसदले सरकारलाई साथ दिने निर्णय गर्दै सरकारमै सहभागी भएपछि संसदीय अंकगणितमा नाटकीय फेरबदल भएको थियो ।केन्द्रमा जसपा नेपालका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको एमालेसँग सहकार्य गर्ने संकेत दिइरहेको समयमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने अडान राख्दै आएका छन् । सोही आधारमा लुम्बिनी प्रदेशमा पनि जसपा नेपालका सांसद दुई पक्षमा विभाजित देखिएका हुन् ।

 

लुम्बिनी प्रदेशसभामा जसपा ६ सांसदमध्ये चारजना सरकारमै सहभागी भए पनि बाँकी दुईजना एमाले नेतृत्वको सरकारको समर्थन नगर्ने अडानमा छन् । जसपा नेपालका सांसदद्वय सहर्षराम यादव र पुमती ढेगाँ मगरले विपक्षी गठबन्धनसँग सहकार्य गर्ने अडान कायमै राखेका छन् । उनीहरु सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने पक्षमा दृढ छन् । तर सन्तोष पाण्डेय सहितका ४ जना भने पोखरेल नेतृत्वको सरकारमा सहभागी भइसकेका छन् ।

सरकारको पक्ष र विपक्षमा जसपा नेपालका सांसद विभाजित भएसँगै एक अर्कोमाथि कारवाही र स्पष्टीकरणको पत्र आदान प्रदानको होड पनि चलेको छ । सरकारमा सहभागी भएको पक्षले केन्द्रबाट आफुलाई सरकारमा जान सहमति आएको दावी गरेको छ भने अन्य दुई सांसदले एमालेसँगको सहकार्य पार्टीको नीति विपरीत रहेको दावी गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशमा जसपा नेपाल दुई धारमा प्रस्ट विभाजित भइसके पनि केन्द्र अझै अनिर्णित देखिन्छ । केन्द्रबाट जसपा नेपालले ठोस निर्णय लिन नसक्दा प्रदेशमा सांसदहरु आफुलाई जता सहज हुन्छ, त्यही अनुसार चलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post