डा नितेश घिमिरे
कोरोनाले आक्रान्त, तैपनि अस्पतालको सर्जरी विभागमा बिरामीको संख्या कत्ति पनि घटेको छैन।
छालामा दाद भएका, घाँटी खसखसाएका र सुन्दरताका लागि कस्मेटिक सर्जनकोमा जानुपर्ने बिरामी पक्कै अस्पताल धाउन छाडेका छन्। तर सहनै नसक्ने गरी पेटको व्यथा भएका, पित्तथैलीमा पत्थर भएका, मिर्गौलामा अथवा पिसाब नलीमा पत्थरीको समस्या भएका बिरामीको अस्पताल धाउने क्रम महामारीले सायदै रोक्न सक्ला।
म एक सर्जरी विभागमा कार्यरत चिकित्सक। एक हप्तादेखि नियाल्दै आइरहेको छु, ४० वर्षदेखि ५० वर्ष उमेर भएका महिला अस्पताल आएर यस प्रकारका समस्या सुनाउनुहुन्छ, 'खुट्टा भतभती पोल्छ अनि माथितिर सर्दै गएर टाउकोसम्म झनझनी बनाउँछ।' अनि म अलि ठट्टा गर्दै भन्छु, 'आमा, हजुरको त पूरै शरीरको शल्यक्रिया गर्नुपर्ने बेला भएको रहेछ।' आमा त्यसपछि अलि अमिलो हुँदै भन्नुहुन्छ, 'डाक्टरले त मेरो समस्या बुझ्नुपर्यो नि, नहाँस्नुस न बाबु।'
उहाँको मुख्य समस्या आखिर मैले बुझिहालें। हामी सबैलाई लाग्छ, आमा २४ घन्टा घरमा छिन्, उनले गरेकै पो के छिन् र? एक पटक निहालेर हेरौँ त, सबेरै उठ्छिन्, घरको माथिदेखि तलसम्म कुचो लगाउँछिन्। घरमा सबै सदस्यलाई चिया-नास्ता खुवाउँछिन्। केही बेरपश्चात् छोराछोरीको अनलाइन कक्षा सकिन्छ। लोग्नेको मोटोपन घटाउने व्यायाम सकिन्छ अनि तिनैलाई खानाको तालमेल मिलाउनमा व्यस्त हुन्छिन्।
के यो सब आमाको कसरत होइन? चार हात-खुट्टा बिहानीको घाम उदाएदेखि राति कोठामा बत्तिको स्विच ननिभाएसम्म चलिराखेको हुन्छ। सात जना घरमा सुतेरै दिन बिताउँछन् तर भान्सा कोठामा आमाले के गर्दैछिन् भनेर नियाल्नेसम्म चेष्टा गर्दैनन्। हो, लकडाउनको पहिलो केही साता फेसबुक भरिने गरी नयाँ परिकार बनाउँदै तस्बिर हाल्ने क्रम बढेको थियो। हरेक घर होटलभन्दा कम थिएनन्। अब त त्यो पनि आलश्यपनमा परिणत भइसकेछ। आज फेरि उही चुलो-चौकोले आफ्नो प्यारो साथी 'आमा' लाई पाएको छ।
गर्भवती जसले ९ महिना आफ्नो ज्यानले सकिनसकी स्याहार्छिन्। बच्चा जन्मेको दिन भए-नभएका मानिस आएर त्यो १ दिनको बच्चालाई काखमा लिँदा र दिँदा, उचाल्ने-थेचार्ने नै गर्छन्। तर त्यही मध्यरात बच्चा रोयो भने उठेर हातमा लिँदै झोलुङ्गो जसरी हल्लाउने उही आमा नै हुन्छिन्। अनि ती हात र हड्डीका जोर्नी भतभती नपोलून् किन?
सामाजिक सञ्जालमा 'मामु इज माइ बेस्ट फ्रेन्ड' लेखेर तस्बिर पोस्ट गर्दा आमाको मन पक्कै खुसी हुन्छ तर कुनै एक दिन आमाको शरीरलाई आराम दिएर त हेर्न्नुहोस, हरेक घर व्यायामशाला हुनेछ। त्यसपछि न छोराछोरीलाई सबेरै बक्सिङ र साइक्लिङ जान आवश्यक छ, न त श्रीमानलाई जगिङ।
अस्पतालको आयआर्जन बढाउने नै मनसाय राखेको भए पेटको अल्ट्रासोनोग्राफी र हड्डीको एक्स-रे गर्न लगाउँथें होला। तर आमालाई केही भिटामिनको सुझाव दिएर, उहाँसँग बसेर एक कप चिया पिउँदै मैले केही ज्ञान बटुलें र आमाको खुट्टा भतभती पोलेर टाउकोसम्म झनझन गर्ने रोगको केही क्षणलाई भए पनि उपचार पक्कै भएको महसुस गरेँ।
Post a Comment